Spread the love
Spread the love
कोशी प्रदेश बजेट छलफल: ५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यसहित बैठक सम्पन्न
Spread the love

विराटनगरमा सम्पन्न कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेटमाथिको सामान्य छलफल सकिएको छ। आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले असार ७ गते सदनमा प्रस्तुत गरेको 'राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्' भन्ने प्रस्तावमाथि २४ जना प्रदेशसभा सदस्यहरूले आ–आफ्ना सुझाव, टिप्पणी र संशयसहितका धारणा राखेका थिए। छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री लिंथेपले सांसदहरूका रचनात्मक सुझावलाई शिरोधार्य गर्ने प्रतिबद्धता जनाउँदै बजेट पूर्ण रूपमा न्यायोचित र सन्तुलित रहेको दाबी गरे।​सरकारले आगामी आर्थिक वर्षमा ५ अर्ब ५० करोड रुपैयाँ आन्तरिक आय उठाउने लक्ष्य राखेको छ भने कृषि, सिँचाइ, सडक पूर्वाधार, निजी क्षेत्र र 'उदय परियोजना' मा गरिने लगानीका कारण प्रदेशको आर्थिक वृद्धि दर ५ प्रतिशतभन्दा बढी हुने विश्वास लिएको छ। यसका साथै, मन्त्री लिंथेपले प्रदेशका १०० वटा विद्यालयमा प्रविधिमैत्री शिक्षा लागू गरिने जानकारी दिँदै प्रदेशको मुख्य समस्याका रूपमा रहेको जङ्गली हात्ती र बाँदर नियन्त्रणका लागि ठोस नीति बनाएर अघि बढ्न सबैको साझा धारणा हुनुपर्नेमा जोड दिए। बैठकको अन्त्यमा मन्त्री लिंथेपले आगामी आर्थिक वर्षको सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने व्यवस्थाका लागि बनेको विधेयक, २०८३ विचार गरियोस् भनी सदनमा प्रस्ताव पेस गरेका छन्।