नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समयमै पहिचान, सही उपचार–कुपोषणमुक्त पुस्ताको आधार भन्ने मूल नाराका साथ १५ दिने राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु गरेको छ। यही वैशाख १५ देखि ३० गतेसम्म देशका सबै ७५३ स्थानीय तहमा सञ्चालन हुने यस अभियानको मुख्य उद्देश्य ६ देखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था जाँच गरी शीघ्र तथा मध्यम कुपोषणको समयमै पहिचान र उपचार सुनिश्चित गर्नु हो।
यस अभियान अन्तर्गत स्वास्थ्य संस्था, खोप केन्द्र, सामुदायिक क्लिनिक र बाल विकास केन्द्रहरूमा डिजिटल तौल मेसिन र पाखुराको घेराइ नाप्ने टेप जस्ता आधुनिक उपकरण प्रयोग गरी बालबालिकाको स्वास्थ्य परीक्षण गरिनेछ। यसरी सङ्कलन गरिएको तथ्याङ्कका आधारमा कुपोषणको जोखिम रहेका क्षेत्रहरूको वर्गीकरण गरी आगामी दिनमा लक्षित पोषण कार्यक्रमहरू तय गरिने मन्त्रालयले जनाएको छ। मन्त्रालयले आफ्ना बालबालिकाको अनिवार्य पोषण जाँच गराई स्वस्थ पुस्ता निर्माणको यो अभियानलाई सफल पार्न सबै अभिभावकहरूमा अनुरोध समेत गरेको छ।
