काठमाण्डौ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ नेपाली कम्युनिस्ट पार्टी निकट नेपाली समाज भारतको निमन्त्रणामा नयाँ दिल्ली पुगेपछि नेपालमा अनावश्यक राजनीतिक कुप्रचारको सिकार बनेका छन्।
तत्कालिन नेकपा माओबादी केन्द्र, नेकपा एकिकृत समाजबादी लगाएत बिभिन्न पार्टीबीच एकता भएपछी भारतमा बिभिन्न कामका सिलसीलामा रहेका पार्टी निकटहरुको दिल्लीमा आयोजित ‘एकता सन्देश सभा तथा साक्षात्कार’ कार्यक्रम कुनै पनि राजनीतिक दल, सरकार वा कूटनीतिक निकायसँग सम्बन्धित नभई प्रवासी नेपाली समुदायसँगको सामाजिक संवादका लागि आयोजना गरिएको कार्यक्रम हो। तर, यसलाई लिएर नेपालमा केही समूहले यस भ्रमणलाई फागुन २१ गते हुन गैरहेको निर्वाचनसंग जोडी राजनीतिक भेटघाट भनेर गलत प्रचार गरिरहेका छन्।
भारत सरकार, भारतीय राजनीतिक दल वा कुनै उच्चस्तरीय राजनीतिक व्यक्तिसँग भेटघाटको कुनै कार्यक्रम तय थिएन र छैन। सम्पूर्ण भ्रमण प्रवासी नेपालीसँग भेटघाट, उनीहरूको समस्या सुन्ने र एकताको सन्देश दिनमै केन्द्रित रहेको थियो।

नेपाली समाज भारतद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा भारतभरबाट आएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता थियो। कार्यक्रममा प्रवासी नेपालीले रोजगारी, कागजात, सामाजिक सुरक्षा, पहिचान र मातृभूमिसँगको सम्बन्धका विषयमा आफ्ना धारणा राखेका थिए।
यस्तो सामाजिक र सामुदायिक कार्यक्रमलाई राजनीतिक रंग दिनु प्रवासी नेपाली समुदायको भावना र उद्देश्यप्रति अन्याय भएको टिप्पणी आयोजक पक्षले गरेको छ। प्रवासीसँग संवाद गर्नु लोकतान्त्रिक अभ्यासको हिस्सा भएको उल्लेख गर्दै यसलाई कुप्रचारको विषय बनाइनु नियोजित र पूर्वाग्रही प्रयास भएको आरोप लगाइएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार नेपालमा हुने आन्तरिक राजनीतिक असन्तुलनको असर प्रवासी भेटघाटसमेतमा देखिनु चिन्ताजनक प्रवृत्ति हो। उनीहरू भन्छन्- प्रवासमा रहेका नेपालीसँग संवादलाई समेत शंका र आरोपको दृष्टिले हेर्ने संस्कारले नेपाली राष्ट्रिय एकता कमजोर बनाउँछ।
