काठमाण्डौ, नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा पोखरा एभेन्जर्सले पहिलो जित दर्ता गर्न सफल भएको छ। शुक्रबार सम्पन्न भएको खेलमा पोखराले जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गर्यो।
पोखराले दिएको १५६ रनको लक्ष्य पछ्याउँदै जनकपुरले २० ओभरमा ९ विकेटको क्षतिमा १३० रन मात्र बनाउन सक्यो। जनकपुरका वेन पोर्नेलले उत्कृष्ट ५० रन बनाएर रिटायर्ड आउट भए भने सञ्जय कृष्णमूर्तिले २५ रन जोडे। पोखराका बिपिन खत्रीले प्रभावशाली बलिङ गर्दै ४ विकेट निकाले भने सुमित बर्माले २ विकेट लिए।
यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। पोखराका सुमित वर्मा नटआउट ५० रनका साथ शीर्ष स्कोरर रहे भने दिनेश खरेलले ३८ रनको योगदान दिए। जनकपुरका सञ्जय कृष्णमूर्तिले ३ विकेट हात पारे।
लगातार हारपछि तालिकाको पुछारमा रहेका पोखराले पहिलो जितसँगै २ अंक जोड्दै छैटौँ स्थानमा उक्लिएको छ। लगातार तीन खेलमा पराजित जनकपुर भने अंकविहीन रहँदै अन्तिम स्थानमा झरेको छ।

