काठमाण्डौ,प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै नेकपा एमाले सर्वोच्च अदालत पुगेको छ। पुनर्स्थापनाको मागसहित दायर गरिएको रिट प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले दर्ता गरेका हुन्।
यही दिन एमालेले अर्को मोर्चातर्फ अघि बढ्दै आसन्न २१ फागुनमा हुन सक्ने भनिएका प्रतिनिधिसभा चुनावलाई लक्षित गर्दै निर्वाचन आयोगमा दल दर्ता अद्यावधिकसमेत गरेको छ। आयोगमा निर्वाचन विभाग प्रमुख नीरज आचार्य र केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले यो प्रक्रिया पूरा गरेका हुन्।
एमालेले सर्वोच्चमा रिट दर्ता गरेर संवैधानिक लडाइँ जारी राख्ने सन्देश दिएको छ भने आयोगमा दल दर्ता अद्यावधिक गरेर चुनाबमा जान तयार रहेको संकेत गरेको छ। पार्टीका नेताहरूका अनुसार दल दर्ता अद्यावधिक गर्नु संवैधानिक दलको नियमित प्रक्रिया हो र यसलाई २१ फागुनको चुनाव स्वीकारेको अर्थमा नलिनुपर्ने बताइएको छ।
एकै दिन दुईवटा ठूला कदम चाल्दै एमालेले दोहोरो ढोक्सा थापेको विश्लेषण गरिएको छ।

