काठमाडौं । रास्वपाकी नेतृ तोसिमा कार्कीले पार्टी नेतृत्वको हालै गरिएको सचिवालय विस्तारप्रति असन्तुष्टि प्रकट गरेकी छन्। आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पार्टीले लिएको निर्णयले अपेक्षित सुधारको दिशा नदेखाएको टिप्पणी गरेकी हुन्।
उनका अनुसार आफू र आफ्ना सहकर्मीहरूले रास्वपाभित्र सुधार र रूपान्तरणमुखी कार्यकारी नेतृत्वको खोजी गरेका थिए, तर हालको सचिवालय विस्तारले त्यस आकांक्षा पुरा गर्न सकेको छैन। कार्कीले लेखेकी छन्, हामीले चाहेको थियो, पारदर्शी, सहभागी र सुधारमुखी नेतृत्व, तर निर्णय प्रक्रिया र परिणामले त्यसको विपरीत सन्देश दिएको छ।
पार्टीको आगामी महाधिवेशन कहिले र कसरी गर्ने भन्ने विषयमा निर्णय गर्नका लागि विस्तारित बैठक बोलाइए पनि, करिब दुई हप्ताअगाडि नै सचिवालय विस्तार गरिएको भन्दै उनले नेतृत्वप्रति असन्तोष व्यक्त गरेकी छन्। उनका अनुसार, यस्तो निर्णयले पार्टीभित्रको सहकार्य र परामर्श संस्कृतिमा प्रश्न उठाएको छ।
कार्कीले पार्टीभित्र विचार, नीति र कार्यशैलीमा सुधार ल्याउन सामूहिक प्रयास आवश्यक भएको उल्लेख गर्दै कार्यकर्ताहरूको भावनालाई सम्मान गर्दै अघि बढ्न नेतृत्वलाई आग्रह पनि गरेकी छन्।

