काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले वर्तमान अन्तरिम सरकार आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मात्र आएको बताएका छन्। उनले फागुन २१ गते तोकिएको निर्वाचनमा सबै राजनीतिक दलले भाग लिनुपर्ने बताएका हुन्।
मंगलबार सानेपामा सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकअघि आफूनिकट नेताहरूसँगको आन्तरिक छलफलमा बोल्दै कोइरालाले देशको राजनीतिक स्थायित्वका लागि निर्वाचन नै उचित बाटो भएको धारणा राखे।
कांग्रेस नेतृत्व संसद् विघटनको विरोधमा रहे पनि डा. कोइरालाले आफू संसद पुनःस्थापनाको पक्षमा नरहेको स्पष्ट पारेका छन्। उनका अनुसार संसद् पुनःस्थापनाले राजनीतिक समस्या झन् जटिल बनाउने भएकाले अब चुनावमा जाने बाटो नै समाधान हो।
उनले यसपटकको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १५औं महाधिवेशनको मिति निश्चित गर्ने अपेक्षा पनि व्यक्त गरे। कोइरालाले मिति घोषणा नभएसम्म आफू बैठक हलबाट ननिस्कने चेतावनीसमेत दिएका छन्।
कोइरालाले नियमित महाधिवेशनको पक्षमा रहेको स्पष्ट गर्दै भने, पार्टीलाई संस्थागत बनाउन निर्धारित समयमै महाधिवेशन हुनु जरुरी छ।
सभापति शेरबहादुर देउवाले बैठकमा महाधिवेशनको रोडम्याप ल्याउने विश्वास व्यक्त गर्दै उनले देउवालाई सो विषयमा सकारात्मक भूमिका खेल्ने सुझाव दिएका छन्।

बरु पार्टीको कार्यवाहक जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिन सकिने र त्यसमा आफूलाई कुनै आपत्ति नहुने पनि उनले बताए।
आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारका रूपमा आफूले दाबी गर्ने स्पष्ट गर्दै उनले महामन्त्री गगन थापासँग सहकार्यको सम्भावना खुला रहेको बताए।
