गाजामा हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक बिपिन जोशी जीवित रहेको नयाँ विवरण सार्वजनिक भएको छ। टाइम्स अफ इजरायल र एपीसहितका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले प्रकाशित २२ जना जीवित बन्धकको सूचीमा बिपिनको नाम पनि समावेश गरिएको छ।
अक्टोबर ७, २०२३ मा सुरु भएको इजरायल–हमास युद्ध दुई वर्षपछि अन्त्यतिर पुगेको छ। उक्त आक्रमणमा करिब १,२०० इजरायली नागरिक मारिएका र २५१ जना अपहरणमा परेका थिए। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धमा करिब ६७ हजार प्यालेस्टिनीको मृत्यु भएको छ, जसमा आधाभन्दा बढी महिला र बालबालिका छन्।
बिपिन जोशी गाजामा जीवित रहेका एकमात्र गैर–इजरायली बन्धक हुन्। उनी नेपालबाट कृषि अध्ययनका लागि इजरायल पुगेका थिए र किबुट्ज अलुमिम नामक क्षेत्रमा कार्यरत थिए। हमासको आक्रमणमा १७ नेपाली विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको थियो, जबकि बिपिनले साथीहरूलाई जोगाउने प्रयासमा घाइते भई अपहरणमा परेका थिए।

हालै सार्वजनिक गरिएको भिडियोमा बिपिनले आफू नेपाली भएको र कृषि तालिम कार्यक्रमअन्तर्गत कार्यरत रहेको बताएका छन्। परिवारका अनुसार उक्त भिडियो सन् २०२३ नोभेम्बरको हो, जसले उनी जीवित रहेको प्रमाण दिन्छ।
उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले बिपिनको रिहाइका लागि इजरायल र अमेरिकासम्म पुगेर अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेका छन्। देशभरका नेपालीहरूले पनि उनको सुरक्षित फिर्तीको आशा व्यक्त गरेका छन्।
