सरकारले जनकपुर उपमहानगरपालिकाभित्रका राजगुठीअन्तर्गतका पोखरी र तिनका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन निर्देशन दिएको छ।
गुठी जग्गा संरक्षण र व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन–२०६२ कार्यान्वयन समितिले सार्वजनिक सूचना जारी गर्दै विशहरा, दशरथ, अर्गजा, रत्न सागर, मुरलीसहितका पोखरी क्षेत्रमा बनेका अनधिकृत संरचना हटाउन भनेको हो।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सार्वजनिक सम्पत्ति जोगाउने अभियानअन्तर्गत यो कदम चालेको हो। तोकिएको समयभित्र अतिक्रमण नहटाए प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने समितिले चेतावनी दिएको छ।
