काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०८३/०८४ मा महानगरले आयोजना गर्न लागेको ‘इन्टरनेशनल फिल्म फेस्टिभल’ रचनात्मक उद्योग र पर्यटनको एकीकृत प्याकेज हुने बताएकी छिन्।बुधबार नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टसँगको शिष्टाचार भेटघाटका क्रममा उनले यस्तो धारणा राखेकी हुन्। भेटमा कार्यवाहक प्रमुख डंगोलले महानगरपालिकाको मुख्य काम चलचित्र निर्माण नभए पनि रचनात्मक उद्योगको विकास र समुदायलाई जोड्न यो एक सशक्त माध्यम बन्ने स्पष्ट पारिन्।महानगरले आयोजना गर्ने यस फेस्टिभलमा अष्ट्रेलियन कलाकार, चलचित्र निर्माता, निर्देशक र प्राविधिकहरूलाई सहभागी गराउन चाहेको उनले बताइन्। नेपालमा चलचित्र क्षेत्रका पेशाकर्मीहरूको क्षमता विकास, समुदाय तथा शैक्षिक प्रतिष्ठानमा चलचित्र शिक्षा, र चलचित्रका माध्यमबाट स्थानीयको जीवनस्तर सुधार गर्न अष्ट्रेलियासँग सहकार्य गर्न सकिने उनको भनाइ थियो।महानगरले हालै सम्पन्न गरेको 'टोल टोलमा फिल्म महोत्सव' को सकारात्मक नतिजाबारे चर्चा गर्दै डंगोलले भनिन्, “चलचित्रले घरभित्र रहेका व्यक्तिलाई सार्वजनिक स्थलमा ल्याएर सामाजिक सद्भाव बढाउन सहयोग गर्छ। यसमा बालबालिका र महिलाहरूको उत्साहजनक सहभागिता र उनीहरूमा देखिएको खुसी नै हामीले अपेक्षा गरेको नतिजा हो।”भेटका क्रममा अष्ट्रेलियन राजदूत साइमन अर्न्स्टले हालसम्म करिब ५० हजार अष्ट्रेलियन नागरिकले नेपाल भ्रमण गरिसकेको र हजारौँ नेपालीहरू अष्ट्रेलियाका विभिन्न सहरहरूमा रहँदै आएको स्मरण गरे। उनले काठमाडौं महानगरपालिकाले आयोजना गर्ने यस ऐतिहासिक कार्यक्रममा जोडिन अष्ट्रेलिया सकारात्मक रहेको र सहकार्यका लागि तयार रहेको प्रतिबद्धता जनाए।
