कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठनलाई नेपाली जनताको पहिलो सरकारका रूपमा चित्रण गर्दै सङ्गठनमाथि उठ्ने प्रश्नप्रति जिम्मेवार बन्न आग्रह गरेका छन्।
विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय ‘अपराध अनुसन्धान समीक्षा’ गोष्ठीको उद्घाटन गर्दै उनले प्रहरीलाई बलियो बनाउन साधन, स्रोत र व्यवस्थापकीय कमीकमजोरी राज्यले पूरा गर्नुपर्नेमा जोड दिए।
साथै, प्रदेश सरकारले ‘डिएनए’ परीक्षण प्रयोगशाला निर्माण र डिजिटल प्रणालीमा सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे।
गोष्ठीमा उपस्थित विशिष्ट व्यक्तित्वहरूले प्रविधिको विकाससँगै अपराध अनुसन्धानमा थपिएका चुनौतीबारे चर्चा गरे। प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर र न्यायाधीश दुर्गाबहादुर भुसालले अपराधीहरूले पनि विज्ञान र प्रविधिको प्रयोग गरिरहेकाले प्रहरीले प्रमाणका आधारमा गुणस्तरीय र त्रुटिरहित अनुसन्धान गर्नुपर्ने धारणा राखे।
कोशी प्रदेशका सबै जिल्लाका प्रहरी प्रमुख तथा अनुसन्धान अधिकृतहरूको सहभागिता रहेको उक्त एकदिने गोष्ठी अपराध अनुसन्धानका कमीकमजोरी सुधार्न फलदायी हुने विश्वास लिइएको छ।
