Originally posted 2025-06-13 06:02:17.

Like this:

नेपालले टेस्ट मान्यता प्राप्त वेस्ट इन्डिजसंग ३ खेलको टी–२० सिरिज खेल्ने

काठमाण्डौ : नेपालको राष्ट्रिय पुरुष क्रिकेट टोलीले पहिलोपटक टेस्ट मान्यताप्राप्त वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक टी–२० आई सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार नेपाल र वेस्ट इन्डिजबिच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने घोषणा गरेको हो । नेपालको क्रिकेट इतिहासकै टेस्ट राष्ट्रविरुद्धको ऐतिहासिक सिरिज संयुक्त अरब इमिरेट्स (युएई)को विश्वचर्चित शारजहाँ क्रिकेट रंगशालामा हुनेछ ।

दुई टोलीबिचको सिरिज आगामी २७, २८ र ३० सेप्टेम्बरमा हुनेछ ।वेस्ट इन्डिज क्रिकेट बोर्ड र क्यानबिच लामो समयको छलफलपछि सिरिज सम्भव भएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन् । ‘आइसिसीको पूर्णकालीन सदस्य राष्ट्रविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने सपना थियो, जुन वेस्ट इन्डिजसँग सम्भव भएको छ,’ लामाले भने, ‘दुई क्रिकेट बोर्डबिच अगाडिदेखि छलफल चलिरहेको थियो । अन्ततः वेस्ट इन्डिजको क्रिकेट बोर्डले आफ्नो सिनियर टोलीलाई नेपालसँग खेल्ने सहमति जनायो ।’ वेस्ट इन्डिजसँगको टी–२० आई सिरिजको आयोजक नेपाल नै हो । आयोजकका रूपमा युएईमा प्रतियोगिताको आर्थिक पक्ष उसैले व्यहोर्नुपर्ने अन्तर्राष्ट्रिय अभ्यास छ । तर, क्यानले यसको सहजीकरण गर्न युएईसँग वार्ता गरिरहेको छ । ‘हामीले युएईसँग प्रतियोगिताका विविध पक्षबारे छलफल गरिरहेका छौँ,’ लामाले भने, ‘हामीलाई विश्वास छ, यसमा युएईले सहयोग गर्नेछ ।’ वेस्ट इन्डिजको उदीयमान राष्ट्रसँग खेल्ने चाहनावेस्ट इन्डिज क्रिकेट बोर्डले अन्तर्राष्ट्रिय क्षेत्रमा चम्किरहेको राष्ट्रसँग प्रतिस्पर्धा गर्ने अगाडिदेखिको योजना हो । यसै योजनाअनुसार वेस्ट इन्डिजले विश्व क्रिकेटमा उदीयमान राष्ट्रका रूपमा नेपालसँग सिरिज खेल्ने सहमति जनाएको क्यानका प्रवक्ता लामाले बताए । ‘उहाँहरूले उदीयमान क्रिकेट राष्ट्रसँग सिरिज खेल्ने योजना बनाइराख्नुभएको थियो, यसबिच हामीले प्रस्ताव राख्यौँ र एक किसिमले सहज रूपमा नेपालसँग सिरिज खेल्ने सहमति भयो,’ उनले भने, ‘पक्कै पनि यसले हाम्रो क्रिकेट विकासमा टेवा पुग्नेछ ।’ क्यानले वेस्ट इन्डिज क्रिकेटलाई उनीहरूको बलियो प्रतिबद्धताका लागि गहिरो कृतज्ञता दिएको छ । गत वर्षको पुसमा भएको नेपाल प्रिमियर लिग (एनपिएल) दौरान वेस्ट इन्डिजका लिजेन्ड ब्रायन लाराले नेपाल भ्रमण गरेका थिए । नेपालको क्रिकेट विकासमा लाराले सक्दो सहयोग गर्ने वाचा गरेका थिए । दुईपटकको विश्व च्याम्पियन वेस्ट इन्डिजक्रिकेटको छोटो फर्म्याट (टी–२०) मा वेस्ट इन्डिजको रेकर्ड गर्विलो छ । वेस्ट इन्डिजले यो फर्म्याटमा हुने विश्वकप दुईपटक जितेको छ । सन् २०१२ र २०१६ मा गरी वेस्ट इन्डिजले आइसिसी टी–२० विश्वकप जितेको हो ।

Originally posted 2025-06-13 06:02:17.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Originally posted 2025-06-13 06:02:17.

Like this: