चालु आर्थिक वर्षको पहिलो १० महिनामा वीरगन्ज भन्सार नाका हुँदै व्यापारिक गतिविधिमा उत्साहजनक सुधार देखिएको छ। यस अवधिमा कुल रु ७ खर्ब ९४ अर्ब ८७ करोड मूल्य बराबरका विभिन्न वस्तु तथा सामग्रीहरू नेपाल भित्रिएका छन्।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो आयात १५ प्रतिशत अर्थात् रु १ खर्ब २ अर्ब ४४ करोडले बढी हो, जबकि गत वर्षको सोही १० महिनामा रु ६ खर्ब ९२ अर्ब ४३ करोडको मात्र आयात भएको थियो। वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार विशेष गरी पेट्रोलियम पदार्थ र फलाम तथा फलामजन्य वस्तुको आयातमा आएको बढोत्तरीले समग्र आयातको ग्राफ बढाएको हो।
यस अवधिमा आयात भएका मुख्य सामग्रीहरूमा ऊर्जा र औद्योगिक कच्चा पदार्थको हिस्सा ठूलो रहेको छ। सबैभन्दा बढी रु १ खर्ब ८१ अर्ब ७० करोड मूल्य बराबरका पाँच थरिका पेट्रोलियम पदार्थ भित्रिएका छन् भने विकास निर्माण र उद्योगका लागि आवश्यक पर्ने रु ६९ अर्ब ४२ करोडको फलाम तथा फलामजन्य सामान आयात भएको छ।
त्यसैगरी, औद्योगिक क्षेत्रकै लागि रु ५७ अर्ब ६६ करोड मूल्य पर्ने मेसिनरी तथा तिनका पार्टपुर्जा र आन्तरिक खपतका लागि रु ५५ अर्ब ७ करोड मूल्य बराबरको भटमासको कच्चा तेल वीरगन्ज नाका हुँदै नेपाल भित्रिएको छ।
