काठमाडौं महानगरपालिकाले सडकमा कष्टकर जीवन बिताइरहेका असहाय र बेवारिसे व्यक्तिहरूको व्यवस्थापनका लागि 'सहयोगापेक्षी सडक मानवमुक्त अभियान' तीव्र पारेको छ। हालै पशुपति क्षेत्रबाट सुरु गरिएको यो अभियानमा नेपाल प्रहरी र मानव सेवा आश्रमको पनि सक्रिय सहभागिता रहेको छ। अभियानको पहिलो चरणमा पशुपति, कालीमाटी र टेकु क्षेत्रबाट शारीरिक रूपमा अशक्त, क्षयरोगका बिरामी र गम्भीर स्वास्थ्य समस्या भएका ९ जनाको उद्धार गरी उपचार र आश्रयका लागि पठाइएको छ।महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलका अनुसार यो अभियान वास्तविक रूपमा बेसहारा रहेकाहरूका लागि मात्र केन्द्रित हो। सडकमा मागेर हिँड्ने सबै व्यक्ति असहाय नभएकाले, शारीरिक रूपमा स्वस्थ व्यक्तिहरूलाई माग्ने कामलाई पेसा बनाउन निषेध गरिने नीति महानगरले लिएको छ। उद्धार गरिएका व्यक्तिहरूलाई तत्काल स्वास्थ्य परीक्षण, औषधोपचार र मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइनेछ। यस कार्यमा गायिका आनी छोइङ डोल्मा र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले समेत स्थलगत रूपमै ऐक्यबद्धता जनाउनुभएको छ।अभियानलाई थप व्यवस्थित बनाउन प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको नेतृत्वमा उच्च स्तरीय समन्वय समिति र महानगर प्रहरीको संयोजकत्वमा विशेष कार्यदल गठन गरिएको छ। यो कार्यदलले दैनिक तीन चरणमा (बिहान, दिउँसो र राति) सहरका विभिन्न स्थानमा अनुगमन र उद्धार गर्ने तालिका बनाएको छ। उद्धार गरिएकाहरूको पारिवारिक पहिचान भएमा उनीहरूलाई पुनर्मिलन गराइनेछ भने परिवार नभएकाहरूलाई संरक्षण केन्द्रहरूमा उचित व्यवस्थापन गरिने महानगरको योजना छ।
