सरकारले इजरायल, कुवेत, बहराइन र लेबनानमा वैदेशिक रोजगारीका लागि जाने नेपाली श्रमिकहरूका लागि पुनः श्रम स्वीकृति (Re-entry Permit) दिने प्रक्रिया फेरि सुरु गरेको छ। मध्यपूर्व र खाडी क्षेत्रमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिका कारण सरकारले २०८२ फागुन १७ गतेदेखि यी देशहरूमा श्रम स्वीकृति दिन अस्थायी रूपमा रोक लगाएको थियो। तर, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चैत ३० गतेको मन्त्रीस्तरीय निर्णयले यो प्रतिबन्ध हटाउँदै श्रमिकहरूलाई काममा फर्कन बाटो खुला गरिदिएको हो।यसअघि नै सरकारले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (UAE), कतार, ओमान, यमन, जोर्डन र टर्कीका लागि श्रम स्वीकृति सुचारु गरिसकेको थियो। अहिले बाँकी रहेका चारवटा देशको पनि स्वीकृति खुलेसँगै वैदेशिक रोजगारीको क्रममा बिदामा घर आएका वा भिसा नवीकरण गर्न चाहने नेपालीहरूलाई ठुलो राहत मिलेको छ। विशेषगरी इजरायलमा रहेका 'केयरगिभर' र खाडीका अन्य मुलुकमा रहेका औद्योगिक श्रमिकहरू यस निर्णयबाट प्रत्यक्ष लाभान्वित हुनेछन्।वैदेशिक रोजगार विभागका अनुसार, यो व्यवस्था हाललाई पुनः श्रम स्वीकृतिका लागि मात्र लागू गरिएको हो। नयाँ श्रम स्वीकृतिका हकमा भने सरकारले त्यहाँको सुरक्षा अवस्था र रोजगारीको वातावरणलाई अझै सुक्ष्म अध्ययन गरिरहेको बुझिएको छ। वैदेशिक रोजगारीमा जान चाहनेहरूले विभागको अनलाइन प्रणाली (FEIMS) मार्फत आफ्नो प्रक्रिया अगाडि बढाउन सक्नेछन्। साथै, द्वन्द्वग्रस्त क्षेत्रमा जानुअघि सम्बन्धित देशका राजदूतावास वा नियोगबाट आधिकारिक सुरक्षा अपडेट लिन पनि विभागले आग्रह गरेको छ।
