लामो समयदेखि आर्थिक सङ्कट र प्राविधिक समस्या झेलिरहेको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगलाई नियमित सञ्चालन गर्न माग गरिएको छ। सरकारले रुग्ण उद्योगहरू पुनः सञ्चालन गर्ने तयारी गरेसँगै सांसद प्रकाश गौतमले यस उद्योगको सुधारका लागि प्रधानमन्त्री र उद्योगमन्त्रीसँग छलफल अघि बढाउनुभएको छ। उद्योगमा हुने राजनीतिक हस्तक्षेप र भ्रष्टाचार रोक्दै नयाँ व्यवस्थापन टोली निर्माण गर्न सकेमा यसलाई पूर्ण क्षमतामा चलाउन सकिने विश्वास उहाँले व्यक्त गर्नुभएको छ।कच्चा पदार्थ (कोइला) को अभाव र पुरानो ऋणका कारण उद्योगको अवस्था भने निकै दयनीय छ। चालु आर्थिक वर्षमा यो उद्योग केही दिन मात्र सञ्चालनमा आएको छ भने अहिले मौज्दात रहेको थोरै कच्चा पदार्थ सकिएपछि फेरि बन्द हुने अवस्थामा पुगेको छ। निमित्त महाप्रबन्धक डा. शिवनारायण साहका अनुसार कोइला आपूर्तिकर्तालाई पुरानो बक्यौता तिर्न नसक्दा थप कच्चा पदार्थ आउन सकेको छैन, जसले गर्दा उत्पादन प्रक्रिया नै ठप्प हुने जोखिम बढेको छ।आर्थिक समस्याका कारण उद्योगले आफ्ना ३१८ जना कर्मचारीलाई तलब खुवाउन र नेपाल विद्युत् प्राधिकरणको करिब ४० करोड रुपैयाँ बराबरको महसुल बुझाउन समेत कठिनाइ भोगिरहेको छ। वि.सं. २०३३ मा स्थापना भएको यस उद्योगका मेसिनरीहरू निकै पुराना भइसकेकाले प्राविधिक रूपमा पनि उत्पादन प्रभावकारी हुन सकेको छैन। खर्च बढ्दै जाने तर उत्पादन नहुने समस्याले गर्दा उद्योग थप धराशयी बन्दै गएको छ, जसका लागि सरकारी तहबाटै ठोस कदम चाल्नुपर्ने देखिन्छ।
