काठमाडौं, आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई नियोजित अस्थिरतामा धकेलेको आरोप लगाएका छन्। सिन्धुपाल्चोकमा आयोजित पार्टीको विस्तारित बैठकमा बोल्दै उनले जेन–जी आन्दोलनको वास्तविक मर्म उच्च पदस्थ व्यक्तिहरूले अपहरण गरेको दाबी गरे।
साहका अनुसार आन्दोलनकारी युवामाथि मुद्दा चलिरहँदा गोली चलाउने जिम्मेवार व्यक्तिहरूलाई सरकारले उन्मुक्ति दिएको छ। उनले गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यक्षमतामाथि पनि प्रश्न उठाउँदै सुरक्षा व्यवस्था कमजोर भएको आरोप लगाए।
भदौ २३ का घटनामा संलग्न तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयान नलिनु सरकारले डराएको संकेत भएको साहको टिप्पणी थियो। उनले चुनाव सफल बनाउन सरकार बढी जिम्मेवार हुनुपर्ने र ओली नेतृत्वले चुनाव भाँड्ने गतिविधि गरिरहेको आरोप पनि लगाए।

