उदयपुर — उदयपुरमा बाढीले हायस गाडी बगाउँदा एक महिलाको मृत्यु भएको छ भने २१ जना यात्रु सुरक्षित उद्धार गरिएको छ।
बा.४ ख.१६२८ नम्बरको हायस बेलका नगरपालिका–४, लालबजार नजिकको कजवे (साना पुल) पार गर्ने क्रममा खोला बाढीमा परेर बगिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङले जानकारी दिएका छन्।
उनका अनुसार हायस मोरङबाट काठमाडौंतर्फ जाँदै थियो तर बीपी राजमार्ग अवरुद्ध भएपछि भिमानबाट फर्किएको थियो। राति करिब १२ बजे बाढीले हायस बगाएको हो, डिएसपी दोङले भने, “गाडीमा २२ जना सवार थिए, जसमा २१ जनाको तत्कालै उद्धार गरिएको थियो।”
बेपत्ता एक महिलाको शव बिहान करिब १५ मिटर तल फेला परेको प्रहरीले जनाएको छ। मृतकको परिचय मञ्जु अधिकारी, उमेर करिब ४० वर्ष, स्थायी ठेगाना मेलम्ची नगरपालिका, सिन्धुपाल्चोक रहेको खुलेको छ।
प्रहरीका अनुसार उद्धार गरिएका यात्रुमध्ये २० जनालाई आफ्नो गन्तव्यतर्फ पठाइएको छ भने एकजनाको उपचार रामपुरस्थित अस्पतालमा भइरहेको छ।

