काठमाण्डौ / पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१, वनकसवासामा भएको बस दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्।
धनगढीबाट काठमाडौंतर्फ गइरहेको ना.८ ख ५७०३ नम्बरको बस शुक्रबार बिहान करिब ६ बजे दुर्घटनाग्रस्त भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा एक जना महिलाको मृत्यु भए पनि उनको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंहका अनुसार घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ भने १५ जनालाई मध्यम चोट लागेको छ।
गम्भीर र मध्यम घाइतेलाई प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ, जबकि अन्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तर, यात्रुहरूको भनाइअनुसार चालक निदाएको कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

