Like this:

देश अप्ठ्यारो अवस्थामा गुज्रिरहेको छ, प्रचण्डको विकल्प खोज्न हुँदैनः पासाङ
.

काठमाण्डौ/ नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नन्दकिशोर पुन ‘पासाङ’ले पार्टीभित्र नेतृत्व परिवर्तनबारे उठेका बहसबीच अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकल्प अहिले सोच्नै नहुने बताएका छन्।

हाल माओवादीभित्र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्मासहितका नेताहरूले प्रचण्डलाई पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्ने दबाब दिइरहेका बेला पासाङ भने स्पष्ट रूपमा प्रचण्डको पक्षमा उभिएका हुन्।

पासाङले पार्टी मात्र नभई मुलुकसमेत अहिले जटिल र संवेदनशील परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो घडीमा नेतृत्व परिवर्तनले संकट थप गहिरो बनाउन सक्ने चेतावनी दिएका छन्। पुनका अनुसार विगत तीन दशक लामो संघर्ष, सशस्त्र युद्धदेखि गणतन्त्र स्थापनासम्मको यात्रामा प्रचण्डको नेतृत्व निर्णायक भएको र अहिले पनि अनुभवसहितको स्थिर नेतृत्व आवश्यक रहेकाले पार्टी एकता, संगठन सुदृढीकरण र राष्ट्रिय चुनौती समाधानका लागि वर्तमान नेतृत्वलाई नै निरन्तरता दिनुपर्ने आवश्यकता दोहोर्याएका छन्।


यसैबीच, माओवादी केन्द्रको बैठकमा समूहगत छलफल सकिएपछि टोलीका नेता तथा पदाधिकारीहरूले धारणा राख्ने प्रक्रिया चलिरहेको छ। बैठकमा प्रचण्डको नेतृत्वबारे फरक–फरक मत आउन थालेसँगै माओवादीभित्र शक्ति सन्तुलन र भविष्यको दिशाबारे तीव्र बहस बढेको देखिन्छ।

Like this: