Like this:

कांग्रेसको नेतृत्व फेर्नुपर्छ भन्ने विश्वप्रकाश र गगन विरूद्ध खनिए डा. प्रकाशशरण
जेनजी आन्दोलनले कांग्रेसमा.....

काठमाण्डौ/ नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टी सभापतिमाथि भएको सांघातिक आक्रमणपछि जिम्मेवार नेताहरू नै असंवेदनशील बनेकोमा चिन्ता व्यक्त गरेका छन्।

आइतबार आगजनीबाट क्षति पुगेको आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै उनले विशेषतः महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई लक्ष्य गर्दै यस्तो टिप्पणी गरेका हुन्। महतका अनुसार अहिले पार्टीभित्र सुरु भएको नेतृत्व परिवर्तनको बहस संवेदनशील घडीमा अनावश्यक रूपमा आएको छ।

उनले भने, “सभापति उपचाररत हुनुहुन्छ, उहाँको स्वास्थ्य सुधार भएपछि पार्टीभित्र संरचनागत छलफल गरेर निष्कर्षमा पुग्न सकिन्छ। तर अहिलेको घडीमा आलो घाउमा नुन छर्ने प्रवृत्ति देखिनु दुर्भाग्यपूर्ण हो।”

महतले पार्टी नेतृत्वमाथि प्रहार भएको अवस्थामा जिम्मेवार नेताहरूले संयमता र सन्तुलन देखाउनुपर्नेमा उल्टै विवादमा उत्रनुलाई नकारात्मक रूपमा व्याख्या गरे। उनका अनुसार यस्तो कार्यले पार्टीभित्र मात्र होइन, देशमै अस्थिरता ल्याउने लोकतन्त्रविरोधी शक्तिलाई सहयोग पुग्छ।

चार दिनअघि सभापतिलाई ठीक ठानेर साथ दिनेहरू अहिले परिस्थिति फेरिएपछि तुरुन्तै अस्वीकार गर्ने शैली देखिन्छ, उनले भने, यसरी क्षणभरमै निष्कर्षमा पुग्नु उचित होइन।

आधिकारिक रूपमा पार्टीका समिति तथा संरचनाभित्रै गम्भीर छलफल गरेर मात्र सुधार र निर्णय गर्ने समय आएको उनले स्पष्ट पारे।

भदौ २३ गतेको जेनजी प्रदर्शन र त्यसपछिको हिंसात्मक घटनापछि कांग्रेसभित्र नेतृत्व परिवर्तनको बहस सुरु भएको छ, जसलाई प्रवक्ता महतले असमयिक र असन्तुलित ठहराएका छन्।

Like this: