Like this:

देउवालाई नेतृत्वमा राखिरहे कांग्रेसलाई थप क्षति हुन्छ : गगन थापा
देउवा अस्पतालमा उपचार गरिरहेकै अवस्थामा गगन थापाले खोजे विकल्प...

काठमाण्डौ/ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई पुनर्गठन र रूपान्तरण गर्न अब ढिलाइ नगरी नयाँ महाधिवेशन वा विशेष महाधिवेशनतर्फ अघि बढ्नुपर्ने बताएका छन्। शनिबार सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत थापाले आफू पार्टीको साधारण सदस्य भएर बस्न तयार रहेको र नेतृत्वका लागि बाटो खोल्नुपर्ने धारणा राखेका हुन्।

उनका अनुसार महाधिवेशन गर्ने दुई बाटा छन्। पहिलो, नियमित १५औँ महाधिवेशन—जहाँ दुई महिनाका लागि नयाँ क्रियाशील सदस्यता खोल्ने, सबैलाई पार्टी सदस्य बन्न दिने र विधानका प्रावधानलाई निलम्बन गरेर प्रत्यक्ष निर्वाचनमार्फत सभापति तथा नेतृत्व चयन गर्ने। यसलाई उनले सबैका लागि सम्मानजनक विकल्प भनेका छन्।

यदि यस्तो सम्भव नभएमा विशेष महाधिवेशनको बाटो अपनाउनुपर्ने थापाको भनाइ छ। उनले पुराना महाधिवेशन प्रतिनिधिहरूमार्फत विशेष अधिवेशन गरेर पार्टीको नीति, नियम, नेतृत्व र गल्ती सुधार्ने अवसर लिन सकिने बताएका छन्। यसका लागि अहिलेको केन्द्रीय समिति र नेतृत्वले मार्गप्रशस्त गर्नुपर्ने उनको अडान छ।

पार्टी सभापति शेरबहादुर देउवा अस्पतालमा उपचाररत रहेको अवस्थामा नेतृत्वको विषय उठाएकोमा आएका आलोचनाबारे पनि थापाले प्रतिक्रिया दिएका छन्। उनले आफू संवेदनाहीन नभएको उल्लेख गर्दै, ‘सभापतिसँग सल्लाह गरेरै यो कदम चाल्नुपर्ने हो, उहाँलाई नै अघि बढ्न आग्रह गरिएको हो,’ भनेका छन्।

थापाले देउवा नमाने पनि पछि नहट्ने संकेत दिएका छन्। उनका शब्दमा—‘मनाउने हो, फकाउने हो। तर मान्नुभएन भने पछि हट्ने होइन, अगाडि बढ्ने हो देउवालाई नेतृत्वमा राखिरहे कांग्रेसलाई थप क्षति हुन्छ। पार्टी रूपान्तरणको अभियानमा जस्तोसुकै मूल्य चुकाउन तयार छु।’

Like this: