Like this:

प्रधानमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न उठाउने सांसदको माइक काटे सभामुखले
यस घटनापछि संसद्मा पुनः सभामुखको निष्पक्षता र भूमिकाबारे प्रश्न उठेको छ।

काठमाडौं । प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेमाथि निष्पक्षता कायम नगरेको आरोप पुनः तीव्र बनेको छ । बुधबारको बैठकमा माओवादी सांसद छिरिङ ल्हामु लामा (तामाङ) लाई सम्बोधनकै बीचमा माइक्रोफोन काटिएको घटनापछि प्रतिपक्षी दलहरूले सभामुखमाथि सरकार पक्षको कठपुतली बनेको आरोप लगाएका छन्।



सांसद तामाङले आकस्मिक समयमा कर्णाली प्रदेशका सडक समस्याबारे प्रश्न उठाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिको खण्डन गर्न खोजेकी थिइन्। केही दिनअघि प्रधानमन्त्री ओलीले “कर्णालीका सांसद सडकमा देखिन्छन्, सदनमा छैनन्” भनेका थिए। सो अभिव्यक्ति अस्वीकार्य भएको भन्दै तामाङले कर्णालीमा बजेट नदिँदा सडक अवरुद्ध भएको र किसानको करोडौं मूल्य बराबरको स्याउ कुहिएको तथ्य संसद्मा प्रस्तुत गर्न खोजेकी थिइन्। तर, सभामुखले बीचमै उनको माइक्रोफोन बन्द गरिदिएका थिए।

तामाङले सदनमै प्रतिक्रिया दिँदै भनिन्, “चार दिनसम्म सडक बन्द हुँदा २३ ट्रकभरि स्याउ कुहियो, करिब १४ करोडको क्षति भयो। कर्णालीले बारम्बार बजेट माग गर्दा पनि बेवास्ता गरिएको छ। तर जब प्रधानमन्त्रीले उल्टो सांसदहरू नै सडकमा मात्रै छन् भन्ने टिप्पणी गर्नुभयो, त्यसको खण्डन गर्न खोज्दा सभामुखले रोके।”

प्रतिपक्षी सांसदहरूले यस घटनालाई अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष प्रहार र संसदीय संस्कृतिको अवमूल्यन भएको आरोप लगाएका छन्। उनीहरूको भनाइमा, सभामुखले सरकार पक्षलाई बचाउने र विपक्षीको आवाज दबाउने भूमिका खेल्दै आएका छन्।

यस घटनापछि संसद्मा पुनः सभामुखको निष्पक्षता र भूमिकाबारे प्रश्न उठेको छ। प्रतिपक्षी दलहरूले संसद् भनेको बहस र विचार विमर्शको थलो हो भन्ने स्मरण गराउँदै विपक्षी आवाज थुन्ने अभ्यास तत्काल अन्त्य गर्न माग गरेका छन्।

Like this: