काठमाडौं । नेपालको राजनीतिक इतिहासमा माओवादी जनयुद्द एक निर्णायक मोडका रूपमा स्मरणीय छ। करिब एक दशक लामो जनयुद्धले केवल राजनीतिक संरचना परिवर्तन मात्र गरेन, जनमानसमा चेतना र अधिकारको नयाँ समझ पनि स्थापित गर्यो। पुरानो राजतन्त्रको शासन प्रणालीमा सत्ता केवल केही परिवार र उच्च पदस्थ व्यक्तिहरूको नियन्त्रणमा थियो। जनतालाई आफ्नै सरकार छान्ने अधिकार थिएन, नीति निर्माणमा भाग लिन पाउँदैनथे, र विरोध वा आलोचना गर्दा दमनको खतरा रहन्थ्यो। विशेषगरी ग्रामीण भेगका किसान, दलित, महिला, जनजाति र मधेसी समुदायले राज्यसँग आफ्नो सम्बन्धमा असमानता र अन्यायको अनुभव गर्नुपर्ने अवस्था थियो।
माओवादी आन्दोलनले यही अधिकारहीनता र सामाजिक असमानताको विरोध गर्दै गाउँ–गाउँमा चेतना फैलायो। जनताले आफ्नो हक, अधिकार र न्यायको माग गर्न सुरु गरे। महिलाले नेतृत्वमा भाग लिन पाए, दलित र सीमान्तकृत वर्गले समान नागरिकको अधिकारको अनुभूति गर्न थाले। आन्दोलनले जनतालाई सक्रिय बनाउँदै राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना सम्भव गरायो। यसले मात्र नभई संविधानमा समानुपातिक प्रतिनिधित्व, संघीयता, धर्मनिरपेक्षता र लोकतान्त्रिक अधिकार सुनिश्चित गर्यो। आज नेपाली समाजमा नागरिक अधिकारप्रतिको चेतना र लोकतान्त्रिक अभ्यासको वातावरण उत्पन्न हुनुको मुख्य स्रोत यही ऐतिहासिक आन्दोलन हो।
अधिकारप्रतिको जागरण
माओबादी आन्दोलनले गाउँ–गाउँसम्म राजनीतिक चेतना पुर्यायो। भूमिहीन किसानदेखि मजदुर, दलित, महिला, जनजाति र मधेसी समुदायसम्म सबैले आफ्नो अधिकारबारे बोल्ने हिम्मत पाए। यसअघि शहरी बौद्धिक वर्गमा मात्र सिमित अधिकारको बहस पहिलोपटक गाउँको चौतारीसम्म पुगेको हो।
सामाजिक विभेदविरुद्ध आवाज
माओबादी आन्दोलनकै क्रममा महिलाले बन्दुक मात्र होइन, नेतृत्व सम्हाल्ने अवसर पाए। दलित र सीमान्तकृत समुदायले आफूलाई राज्यका समान नागरिकका रूपमा प्रस्तुत गर्ने आत्मविश्वास जुटाए। जातीय विभेद, छुवाछूत र लैङ्गिक अन्यायविरुद्धको चेतना आन्दोलनपछि अझ बलियो बनेको देखिन्छ।
गणतन्त्रको स्थापना
नेपालमा सयौँ वर्षदेखि कायम राजतन्त्र माओवादी आन्दोलनपश्चात् इतिहास बनेको छ। आन्दोलनको बलियो दबाब, जनआन्दोलन–२०६२/६३ को सफलतासँगै राजतन्त्र हट्यो र मुलुकले गणतन्त्रात्मक शासन प्रणाली अंगालेको हो। आज नेपाली जनता आफ्नो राष्ट्रप्रमुख आफैंले चुन्न सक्ने अधिकारसहित गणतन्त्रमा बाँचिरहेका छन्।
राजनीतिक संरचनामा ऐतिहासिक उपलब्धि
माओवादी आन्दोलनकै दबाबमा मुलुकमा राजतन्त्र अन्त्य भई गणतन्त्र स्थापना भयो। संघीय शासन व्यवस्था लागू भई स्थानीय तहसम्म अधिकार पुगेको छ। संविधानले धर्मनिरपेक्षता र समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गरेको छ, जुन आन्दोलनकै उपलब्धि मानिन्छ।
स्वाभिमान र आत्मनिर्भरता
माओबादी आन्दोलनले नेपालीमा आत्मनिर्भरता र स्वाभिमानको चेतना जगायो। “देश केही सीमित वर्गको होइन, सम्पूर्ण नेपालीको साझा सम्पत्ति हो” भन्ने भावना आम नागरिकमा बलियो बनेको छ।
शिक्षा र सामाजिक चेतना
आन्दोलनपछि ग्रामीण भेगमा शिक्षा र महिला सशक्तिकरणबारे सचेतना बढेको छ। बालिका विद्यालय जाने दर वृद्धि, छुवाछूतविरुद्धको अभियान र सांस्कृतिक पहिचानप्रतिको बहस तीव्र भएको देखिन्छ।
लोकतान्त्रिक संस्कार
माओबादी आन्दोलनले लोकतान्त्रिक अभ्यासलाई समेत सबल बनाएको छ। आज जनताले गाउँपालिका, नगरपालिका हुँदै संघीय संसदसम्म आफ्ना प्रतिनिधि छान्ने अधिकार उपभोग गरिरहेका छन्। विरोध, बहस र नागरिक अधिकारप्रतिको चेतना जनस्तरमा बढेको छ।
निष्कर्ष
, माओवादी आन्दोलनले ल्याएको चेतना अहिलेको संविधान र लोकतान्त्रिक संरचनामा मात्र होइन, समाजको दैनिक जीवनमा पनि देखिन्छ। समानता, अधिकार, न्याय र स्वाभिमानप्रतिको जनचेतना नै यस आन्दोलनको दीर्घकालीन योगदानका रूपमा मुल्याङ्कन भइरहेको छ।
