काठमाडौं, ८ भदौ –पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपालको सार्वभौमसत्ता, भू–राजनीतिक सन्तुलन र संविधानको भावना विपरीत रहेको बताएका छन् ।उनले एमसीसीलाई दक्षिण एसियामा अमेरिकी सुरक्षा रणनीति अघि बढाउने माध्यमका रूपमा व्याख्या गर्दै, यसले नेपाललाई असुरक्षित अवस्थामा पुर्याउने दाबी गरे ।
उनका अनुसार, सम्झौता जसरी संसद्बाट पास गरियो, त्यो लोकतान्त्रिक मूल्य र संसदीय अभ्यासविपरीत भएको छ । उनले छलफल नगरी असामान्य ढंगले निर्णय गरिनु “लोकतन्त्रप्रति अनादर” भएको टिप्पणी गरे ।खनालले राजनीतिक दलहरूको दोहोरो भूमिकाप्रति असन्तोष व्यक्त गर्दै त्यसका कारण विद्यार्थी, युवा र बुद्धिजीवीहरू निराश भएको बताए । उनका अनुसार, एमसीसीमार्फत नेपाललाई भारतसँग मात्र विद्युत व्यापार गर्न बाध्य बनाइनेछ, जसले भारतीय एकाधिकारलाई बलियो बनाउने खतरा छ ।
उनले यो परिस्थिति दीर्घकालीन रूपमा नेपालको अर्थतन्त्र र ऊर्जा नीतिमा प्रतिकूल असर पार्ने चेतावनी दिए ।सम्झौताको कार्यान्वयन अझै अस्पष्ट रहेको उल्लेख गर्दै खनालले राष्ट्रिय सार्वभौमसत्ता र स्वतन्त्र नीतिलाई चुनौती दिने कुनै पनि प्रावधान नेपालले स्वीकार्न नसक्ने स्पष्ट पारे । उनले एमसीसी सम्झौताबारे पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याउँदै राष्ट्रिय हितलाई सर्वोपरि राख्न आग्रह गरे ।
