राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पर्सामा पनि सहकारी ठगी र संगठित अपराधको मुद्दा दर्ता भएको छ । कास्की, काठमाडौं, रुपन्देही र चितवनमा यसअघि नै मुद्दा दर्ता भएकामा गत बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय, पर्साले जिल्ला अदालतमा मुद्दा दायर गरेसँगै उनी पाँचौँ मुद्दाको प्रतिवादी बनेका छन् ।
सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना कसुरमा दर्ता गरिएको पूरक अभियोगपत्रमा रविसहित २९ जनालाई प्रतिवादी बनाइएको छ । रविविरुद्ध ११ करोड ५६ लाख ९४ हजार बिगो दाबी गरिएको मुद्दामा सहकारी ऐन, २०७४ को दफा १२४ (१) को खण्ड (घ) को देहाय (५) बमोजिम सजाय र बिगोबमोजिम जरिवाना दाबी गरिएको छ । यो मागदाबीअनुसार अभियोग प्रमाणित भए १० करोडभन्दा बढी एक अर्बसम्म बिगो तथा ६ देखि आठ वर्ष कैद सजाय हुन सक्छ । त्यस्तै, उनीविरुद्ध संगठित अपराध निवारण ऐन, २०७० को दफा (९) को खण्ड (क) र (ग) बमोजिम थप सजायको मागदाबी पनि गरिएको छ । जसअनुसार प्रचलित कानुनको अतिरिक्त ५० प्रतिशत थप सजाय हुन सक्छ ।

Originally posted 2025-06-16 03:03:29.
