कास्कीमा वर्षायामभर नदी तथा खानीजन्य पदार्थको उत्खनन र ओसारपसारमा पूर्ण प्रतिबन्ध लगाइए पनि पोखरामा अवैध रूपमा ढुंगा, गिट्टी, बालुवा निकाल्ने क्रम रोकिएको छैन।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको संयोजकत्वमा रहेको अनुगमन समितिले असार १ गतेदेखि भदौ मसान्तसम्मका लागि रोक लगाए पनि नियमित अनुगमनको अभावमा विशेषगरी सेती नदी क्षेत्रमा अवैध धन्दा चलिरहेको छ। यसैबीच, पोखरा–२५ हेम्जास्थित सेती नदीबाट अवैध रूपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा कास्की प्रहरीले तीनवटा टिप्परलाई नियन्त्रणमा लिएको छ। वडा प्रहरी कार्यालय बगरको टोलीले पोखराका विभिन्न स्थानका चालकहरू सुजन गुरुङ, विकास घर्ती र राजु मगरले चलाएका ग.१ क. ४४७२, जिएए ००७६ र जिएए ०१२४ नम्बरका टिप्परलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता वीरेन्द्र पासवानले जानकारी दिए।प्रहरीले आवश्यक कारबाहीका लागि पठाएका ती टिप्पर र तिनका सञ्चालकहरूलाई पोखरा महानगरपालिकाले जनही १५ हजार रुपैयाँ जरिवाना गरेर छाडिदिएको छ। प्रतिबन्धको समयमा रातिको आवरणमा जानाजान अवैध उत्खनन गर्नेहरूलाई यसरी सामान्य जरिवाना मात्रै गरेर छाडिएको प्रति जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेलले कडा आपत्ति जनाएका छन्। पक्राउ परेका सवारीसाधन र व्यक्तिहरूका बारेमा समन्वय समितिलाई कुनै जानकारी नै नदिई महानगरपालिकाले एकपक्षीय रूपमा उन्मुक्ति दिने शैलीमा कारबाही गर्नु गम्भीर लापरबाही भएको पौडेलको टिप्पणी छ।
