सरकारले सातामा दुई दिन (शनिबार र आइतबार) दिँदै आएको सार्वजनिक बिदामध्ये आइतबारको बिदा खारेज गर्न लागेको भनी सञ्चारमाध्यममा आएका समाचारहरूको खण्डन गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले आइतबारको बिदा खारेज गरिएको भन्ने खबर पूर्णतः असत्य भएको स्पष्ट पार्नुभएको छ।
यस विषयमा सरकारले हालसम्म कुनै पनि निर्णय नगरेको र तत्कालका लागि बिदा हटाउने सम्बन्धमा कुनै तयारी वा छलफल समेत नभएको उहाँले जानकारी दिनुभयो।यसअघि, पश्चिम एसियामा देखिएको समस्याका कारण इन्धनको मूल्यमा निरन्तर वृद्धि भएपछि जनजीवनलाई सहज बनाउने उद्देश्यले गत चैत २२ गतेको मन्त्रिपरिषद् बैठकले सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो।
सोही निर्णय अनुसार सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिँदै कार्यालय समय भने बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कायम गरेको थियो।
