Like this:

मधेसमा खानेपानी र सरसफाइको अवस्था दयनीय: तत्काल दीर्घकालीन योजना बनाउन निर्देशन

राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेस प्रदेशमा देखिएको खानेपानी र सरसफाइको गम्भीर समस्या समाधान गर्न सरकारलाई आग्रह गरेको छ। समितिको हालैको छलफलमा सभापति कृष्णप्रसाद पौडेल र सदस्यहरूले मधेसमा बढ्दो खडेरी, सुक्दै गएका इनार तथा बोरिङ र अधुरा आयोजनाहरू प्रति चिन्ता व्यक्त गरेका छन्।

चुरे क्षेत्रको विनाश र समन्वयको अभावले गर्दा यो सङ्कट झन् गहिरिँदै गएको समितिको निष्कर्ष छ।समितिका सदस्यहरूले खानेपानीको समस्यालाई नीतिगत र व्यावहारिक दुवै रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्। कमला पन्थ, रेखाकुमारी झा र महन्थ ठाकुर लगायतले स्थलगत वास्तविकता बुझेर मात्र योजना बनाउन र अधुरा खानेपानी आयोजनाहरू तत्काल पूरा गर्न माग गरेका छन्।

साथै, भूमिगत पानीको गुणस्तर जाँच गरी मात्र प्रयोग गर्ने र सरसफाइका कार्यक्रमहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने सुझाव दिइएको छ।बैठकले सङ्घ, प्रदेश र स्थानीय तहबीच उचित समन्वय गरी आगामी बजेटमा मधेसको खानेपानी समस्यालाई प्राथमिकता दिनुपर्ने बताएको छ।

हिउँदमा खडेरी परेपछि मात्र समस्या सम्झने तर अरू बेला वास्ता नगर्ने प्रवृत्तिको अन्त्य गर्दै दीर्घकालीन योजना बनाउन समितिले सरकारलाई निर्देशन दिएको छ। मधेसका आठवटै जिल्लामा अवस्था दयनीय रहेकाले यसलाई राष्ट्रिय प्राथमिकताको विषय बनाउनुपर्ने समितिको ठहर छ।

Like this: