म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ। हाइड्रो भिलेज प्रालि प्रवर्द्धक रहेको यस आयोजनाले हाल विद्युत्गृह, सुरुङ र पहुँचमार्ग निर्माणलाई समानान्तर रूपमा अगाडि बढाएको छ भने भौगोलिक विकटताका बाबजुद म्याग्दी नदीको किनारै किनार १० किलोमिटर ट्रयाक खोलेर बाँधस्थलसम्म पहुँच पुर्याइएको छ। हाल विद्युत्गृहबाट निस्कने पानी फाल्नका लागि १,१३० मिटर लामो ‘टेलरेस’ सुरुङ खन्ने काम भइरहेको छ भने सिभिल ठेकेदारले मुख्य सुरुङ र बाँध निर्माणको तयारी गरिरहेको छ।
यो आयोजना 'रन अफ रिभर' प्रकृतिको हो जसमा म्याग्दी र कुनाबाङ खोलाको दोभानमा बाँध निर्माण गरी ७१० मिटर पाइपलाइन र ३,६०० मिटर लामो सुरुङमार्फत पानी ल्याइनेछ। पानीलाई ६०७ मिटरको उचाइबाट पहाडभित्र निर्माण हुने भूमिगत विद्युत्गृहमा खसालेर बिजुली उत्पादन गरिनेछ जसका लागि तीनवटा टर्बाइन युनिटहरू प्रयोग हुनेछन्।
आयोजनाबाट उत्पादन हुने विद्युत्लाई १६.५ किलोमिटर टाढा रहेको डाँडाखेत सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ, जसले सुक्खायाममा करिब ११७ र वर्षायाममा २६४ गिगावाट प्रतिघण्टा ऊर्जा योगदान दिने विश्वास गरिएको छ।कुल १३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनालाई २०८४ सालको चैत महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
आयोजना निर्माणका लागि विस्फोटक पदार्थको प्रयोग अपरिहार्य रहेकाले त्यसको सुरक्षा र व्यवस्थापनका लागि भैँसीखर्कमा नेपाली सेनाको क्याम्प राख्ने तयारी अन्तिम चरणमा पुगेको छ। यो आयोजना म्याग्दी जिल्लाको समग्र आर्थिक विकास र ऊर्जा क्षेत्रको विकासका लागि महत्त्वपूर्ण मानिएको छ, जसले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै दुर्गम क्षेत्रमा पूर्वाधार विकासमा समेत ठुलो टेवा पुर्याइरहेको छ।
