मंगलबार घरेलु मैदान एमए चिदम्बरम स्टेडियममा भएको इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ को खेलमा चेन्नई सुपर किंग्स (सीएसके) ले कोलकाता नाइट राइडर्स (केकेआर) लाई ३२ रनले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९२ रनको बलियो योगफल तयार पारेको थियो। यो नतिजासँगै चेन्नईले लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ भने कोलकाताले लगातार पाँचौँ हार बेहोर्नु परेको छ।
चेन्नईका लागि ब्याटिङमा ओपनर सन्जु सामसनले ४८ रन, डेवाल्ड ब्रेभिसले ४१ रन र आयुष म्हात्रेले १७ बलमा विष्फोटक ३८ रनको योगदान दिएका थिए। कोलकाताका बलर कार्तिक त्यागीले २ विकेट लिए पनि चेन्नईको रन गति रोक्न सकेनन्। १९३ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन मात्र बनाउन सक्यो। कोलकाताका लागि रमनदीप सिंहले सर्वाधिक ३५ रन र रोभम्यान पावेलले अविजित ३१ रन बनाए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन।
कोलकातालाई सस्तैमा समेट्न चेन्नईका अफगानी स्पिनर नुर अहमदले घातक बलिङ गर्दै ४ ओभरमा मात्र २१ रन खर्चेर ३ विकेट लिए, जसका कारण उनी 'प्लेयर अफ द म्याच' समेत घोषित भए। त्यस्तै अंशुल कम्बोजले २ विकेट लिए। यो जितपछि ५ खेलबाट ४ अंक जोड्दै चेन्नई तालिकाको आठौँ स्थानमा उक्लिएको छ भने अंकविहीन कोलकाता तालिकाको १०औँ तथा अन्तिम स्थानमा खुम्चिएको छ।
