काठमाडौँ, विराटनगरमा भइरहेको ३८ औँ विराट गोल्डकप फुटबल प्रतियोगितामा काठमाडौंको चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा पुगेको छ। साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ क्लब) लाई हराउँदै चर्च ब्वाइजले अन्तिम चारको यात्रा सुरक्षित गरेको हो।विराट गोल्डकप ट्रष्टको आयोजनामा आइतबार राति सम्पन्न प्रतिस्पर्धामा चर्च ब्वाइजले एपीएफलाई १–० को अन्तरले हराएको थियो। अब चर्च ब्वाइजले वैशाख ३ गते सेमिफाइनल खेल्नेछ। उक्त खेल वैशाख १ गते हुने विराटनगरको सम्राट स्पोर्टिङ क्लब र भारतको अल झारखण्ड बिर्सा मुन्डा फुटबल एकेडेमीबीचको विजेतासँग हुने छ।खेलको २७ औँ मिनेटमा समीर तामाङले निर्णायक गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए। आशिष सोनामले दायाँतर्फबाट दिएको उत्कृष्ट क्रस पासलाई सदुपयोग गर्दै समीरले बललाई जाली चुमाए। उत्कृष्ट प्रदर्शन गरेका समीर 'प्लेयर अफ द म्याच' घोषित हुँदै ११ हजार रुपैयाँ नगद पुरस्कारबाट सम्मानित भए।एपीएफले खेलमा गोल गर्ने थुप्रै अवसरहरू सिर्जना गरे पनि त्यसलाई पूर्णता दिन नसक्दा प्रतियोगिताबाट बाहिरिनु पर्यो। चर्च ब्वाइजले पनि अग्रता बढाउने केही राम्रा मौकाहरू गुमाएको थियो।विसं २०७८ मा भारतीय टोली पन्जाब पुलिसलाई हराएर च्याम्पियन बनेको एपीएफ यसपटक भने पहिलो खेलबाटै बिदा भएको छ। प्रतियोगिता अन्तर्गत सोमबार नेपाल पुलिस क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
