काठमाण्डौ, नेकपा (एमाले) ले पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक को पक्राउको विरोधमा विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।
पार्टीले सरकारमाथि राजनीतिक प्रतिशोधको भावनाले गिरफ्तारी गरिएको आरोप लगाउँदै सडक र संसद् दुबै मोर्चाबाट प्रतिवाद गर्ने रणनीति अघि सारेको जनाएको छ। मंगलबार बसेको सचिवालय बैठकपछि सचिव महेश बस्नेत ले आन्दोलनका कार्यक्रमबारे जानकारी दिएका हुन्।
बैठकले स्थानीय तहदेखि केन्द्रसम्म चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ। तय कार्यक्रमअनुसार चैत २५ भित्र जिल्लास्तरमा ठूला भेला गरिनेछ भने चैत २८ मा सबै पालिकामा विरोध प्रदर्शन हुनेछ। त्यसपछि वैशाख ३ मा वडास्तरमा भेला आयोजना गरिने योजना छ।
यस्तै, वैशाख ७ मा प्रदेश राजधानीहरूमा प्रदर्शन र वैशाख १२ मा संघीय राजधानीमा ठूलो विरोध कार्यक्रम गर्ने तयारी एमालेले गरेको छ। साथै, आगामी आन्दोलनलाई थप सुदृढ बनाउन केन्द्रीय कमिटी बैठक पनि छिट्टै बोलाइने जनाइएको छ।
आन्दोलनलाई प्रभावकारी बनाउन नागरिक संवाद र संसदीय गतिविधिलाई पनि सँगसँगै अघि बढाइनेछ। नागरिकस्तरको संवादका लागि रघुजी पन्त, योगेश भट्टराई र मीनबहादुर शाही लाई जिम्मेवारी दिइएको छ।
त्यसैगरी, संसद्भित्र अन्य दलसँग समन्वय गरी सरकारविरुद्ध धारिलो प्रस्तुति दिने जिम्मेवारी रामबहादुर थापा ‘बादल’ र पद्मा अर्याल लाई दिइएको छ।
यसै विषयमा रणनीति तय गर्न बुधबार दिउँसो ३ बजे संसदीय दलको बैठक बस्नेछ। साथै, आन्दोलनलाई थप बलियो बनाउन पार्टीका भ्रातृ तथा जनसंगठनहरू पनि सक्रिय रूपमा परिचालन गरिने बताइएको छ।
विद्यार्थी र पेशागत संगठनमाथिको सरकारी हस्तक्षेपको विषयलाई समेत समेटेर विभिन्न जनसंगठनले छुट्टाछुट्टै कार्यक्रम सञ्चालन गर्नेछन्। यी गतिविधिलाई समन्वय गर्न बुधबार बिहान ११ बजे जनसंगठन संयन्त्रको बैठक बस्ने नेकपा एमालेले जनाएको छ।
