Like this:

सिंहदरबार आगजानी प्रकरणमा आलोचकलाई बालेनको कडा जवाफ
#balen

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सिंहदरबारमा लागेको आगो तत्काल नियन्त्रणमा लिन नसकिएको कारणबारे स्पष्टीकरण दिएका छन्।

उनका अनुसार सो दिन आन्दोलनकारीले दमकल अवरुद्ध गरेकाले महानगरको टोली समयमै पुग्न नसकेको हो। उनले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै भनेका छन् — “भदौ २४ को रात देश नै अस्तव्यस्त थियो। राज्यको संयन्त्र ठप्पजस्तै अवस्थामा थियो। त्यतिबेला पनि काठमाडौं महानगर आफ्नो जिम्मेवारीबाट पछि हटेको थिएन।”

शाहका अनुसार सुरक्षाकर्मीहरू आफ्ना चौकी जोगाउनमै व्यस्त भएकाले अराजक स्थिति थियो। सिंहदरबारमा आगलागी भएपछि महानगरले दमकल पठाउने प्रयास गरे पनि आन्दोलनकारीको अवरोधका कारण ढिलाइ भयो। नेपाली सेनाको दमकल भवनभित्रै भए पनि तत्काल प्रयोग गर्न नसकिएको उनले बताए।

उनले थप जानकारी दिँदै भनेका छन् कि भिड शान्त भएपछि साँझ करिब ८ः१५ बजे महानगरको दमकल सिंहदरबार पुगेको थियो। साथै, २३ देखि २८ भदौसम्म महानगरका दमकल टोलीले काठमाडौंका विभिन्न स्थानमा ५५ भन्दा बढी पटक उद्धार तथा आगो नियन्त्रण कार्य गरेको विवरण पनि सार्वजनिक गरेका छन्।

त्यो अवधिमा महानगरले घाइतेहरूको निःशुल्क उपचार, औषधि र रगतको व्यवस्था, स्वास्थ्यकर्मीको समन्वय तथा बिरामी र कुरुवाका लागि निशुल्क खाना–खाजाको व्यवस्थासमेत गरेको उनले उल्लेख गरेका छन्।

Like this: