काठमाण्डौ: सामाजिक सञ्जाल फेसबुकमा अल विदा लेखेर डा. केशव श्रेष्ठ सम्पर्कविहीन भएका छन्। जिल्ला अस्पताल रामेछापबाट सरुवा भएर हेटौंडा पुगेका उनले आफूलाई झुटो आरोप लगाइएको र आर्थिक चलखेलमा सरुवा गरिएको फेसबुकमा उल्लेख गरेका छन्।
डेढ घण्टाअघि उनले सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्। उनी असार मसान्तमा रामेछाप अस्पतालबाट बागमती प्रदेश स्वास्थ्य मन्त्रालय हेटौडा सरुवा भएका थिए।उनी रामेछाप अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डण्टका रुपमा थिए । उनले २५ महिना अस्पतालमा काम गरेको र त्यसमध्ये १८ महिना निमित्त मेडिकल सुपरिटेन्डण्टका रुपमा अस्पताल सुधार्न खोजेपनि राजनीतिक दबाब र धम्की आएको बताएका छन् ।
उनले रामेछाप–८ का पूर्व वडाध्यक्ष केदार कार्कीले अनुचित दबाब र धम्की दिने गरेकोलगायत आरोप समेत लगाएका छन्।‘करीब २५ महिना सेवा गर्दा १८ महिना अस्पतालको निमित मेडिकल सुपरिण्टेट भएर चलाउने मौका पाए। दिन रात खटिएर अस्पताल कसरी राम्रो अनि उत्कृष्ट बनाउने भनेर लागे।म प्रमुख भए पछि काम चोर्ने, ठग्ने, कथकतझ मा नबस्ने कर्मचारीहरूको भागाभाग हुन थाल्यो, डा गगन अधिकारी रामेछाप अस्पताल बाट सरुवा भएर गए पनि रामेछाप अस्पतालको कहिले डाक्टर त कहिले नर्स मेरो विरुद्धम लगाई नै राख्यो, तर म डटेर नै काम गरे ।एउटा ब्यबस्थित अस्पताल बनाए पनि, हरेक कुरालाई कथकतझ मा लिएर आएँ, केदार कार्कीले रामेछाप–८ मागेको पैसा नदिदा अनि उसले भनेको कार्यालय सहयोगी लाई जागीर नलगाउदा उसको नेतृत्वमा मैले कार्यवाही, स्पष्टीकरण सोधेका ३ जना डाक्टर अनि अरु २ जना महिला डाक्टर गरेका डाक्टरहरू लाई प्रयोग गरेर अहिले मलाई विभिन्न झूठा आरोपहरू लगाएर मेरो सरुवा गराए,’ डा. श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘एप्रन किन नलगाएको भनेर एक जना डाक्टर लाई प्रश्न मात्र गरेको थिए म माथी मुखमुखै लागेर तेही डाक्टरले तेही दिन केदार कार्की लाई बोलाएर मेरो कार्यकक्षमा मलाई थर्रकायो र मलाई धन्नै हात हालेन, हाम्रो अस्पतालको अधक्ष्यज्यूको अगाड़ि, तीन दिनमा तेरो सरुवा गरिन भने मेरो नाम पनि केदार होइन भनेर धम्कि दिएर हिड्यो
।’डा. श्रेष्ठको विषयमा जिल्ला प्रहरी कार्यालय रामछाप र काठमाडौंको टोलीले खोजी कार्य अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी प्रदीप कुमार सिंहले श्रेष्ठको मोबाइल अफ भएको र लोकेशन ट्रयाक गर्दा काठमाडौंको चावहिलमा देखिएकोले काठमाडौं परिसरको प्रहरीले खोजीकार्य अघि बढाएको बताए । ‘उहाँले रामेछापमा बसेर काम गर्दाको विषयलाई लिएर सामाजिक सञ्जालमा लेख्नुभएको रहेछ, हामीले त्यसबारे थप अनुसन्धान थालेका छौं,’ उनले भने ।
