Spread the love
Spread the love
​विकास र समृद्धिका लागि अनुसन्धान अपरिहार्य: प्रदेश र स्थानीय सरकारलाई १% बजेट छुट्याउन मन्त्री पुनको आह्वान
Spread the love

विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले देशको समग्र विकास र समृद्धिका लागि नवप्रवर्तन र अनुसन्धानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। उनले आगामी बजेटमा आफ्नो कुल पुँजीगत खर्चको कम्तिमा एक प्रतिशत रकम विज्ञान र नवप्रवर्तनका क्षेत्रमा विनियोजन गर्न सबै प्रदेश तथा स्थानीय सरकारहरूसँग आग्रह गरेका हुन्।​

सामाजिक सञ्जालमार्फत स्थानीय र प्रदेश सरकारहरूको ध्यानाकर्षण गराउँदै मन्त्री पुनले मन्त्रालयबाट प्रदान गरिने विशेष अनुदान प्राप्त गर्नका लागि समेत यो बजेटरी व्यवस्था अनिवार्य सर्तका रूपमा रहने प्रष्ट पारेका छन्।

बजेट निर्माणको चरणमा रहेका स्थानीय तह र प्रदेशहरूले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ।​"देशलाई समृद्धिको दिशामा अघि बढाउन हाम्रो मन्त्रालयले रणनीतिक र ऐतिहासिक कदमहरू चाल्नेछ," मन्त्री पुनले प्रतिबद्धता जनाउँदै भनेका छन्, "देशमा अनुसन्धान र नवप्रवर्तनको संस्कृति स्थापित गर्न जरुरी छ।

संघीय, प्रदेश र स्थानीय सरकार मात्र नभई आम नेपाली नागरिकमा यो संस्कारको विकास गराउन म निरन्तर लागिपर्नेछु।"