नेपाल सरकारले आफ्नो कार्यकुशलता प्रदर्शन गर्न अघि सारेको ३० दिने विशेष कार्ययोजनाको नतिजा उत्साहजनक देखिएको छैन। कुल ५० वटा मुख्य कामहरू सम्पन्न गर्ने लक्ष्य राखिएकोमा हालसम्म ३८ वटा कामहरू अझै अधुरै रहेका छन्।
सरकारले तोकिएको समयसीमा भित्र यी कामहरू फत्ते गर्ने प्रतिबद्धता जनाए पनि ७६ प्रतिशत कामहरू अझै सम्पन्न हुन नसक्नुले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक सक्रियतामा रहेका चुनौतीहरूलाई उजागर गरेको छ।हाल यी बाँकी रहेका ३८ वटा कामहरू विभिन्न चरणको प्रक्रियामा रहेको बताइएको छ।
सरकारी निकायहरूले नीतिगत जटिलता, समन्वयको अभाव वा प्राविधिक तयारी जस्ता कारणले गर्दा काममा ढिलाइ भएको तर्क गरे तापनि, जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी नतिजा आउन अझै समय लाग्ने देखिएको छ। यसले सरकारी योजना र कार्यान्वयन तहबीचको गहिरो खाडललाई प्रष्ट पार्दै, प्रक्रियामुखी प्रणालीले गर्दा नतिजामुखी काम हुन नसकेको संकेत गर्दछ।
